काठमाडौं । पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई देशकै ठुलो चेन क्युएफएक्स सिनेमाजले ‘सुपरहिट’ घोषणा गरेको छ । क्युएफएक्सले कुनै पनि नेपाली फिल्मलाई आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ ट्याग दिएको यो पहिलोपटक हो ।
क्युएफएक्सका अनुसार देशभरीका आफ्ना हलमा पहिलो सप्ताहमा फिल्मले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएको छ ।
गत चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । फिल्मले नेपालमा मात्र नभई विदेशमा पनि नेपाल झैँ भव्यताका साथ व्यापार गरिरहेको छ । पहिलो साता अष्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड’ आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमति बक्सअफिसमै प्रदर्शन भइरहेको छ ।
यस्तै, चैत १५ (मार्च २८) देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’ को प्रदर्शनको सुरुआत गरेको छ । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्मलाई पहिलो सातामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।






