पुजार सार्कीमा पलको मेघराज खत्री लुक्स

काठमाडौं । निर्देशक दिनेश राउतको फिल्म ‘पुजार सार्की’का प्रमुख कलाकार पल शाहको ‘मेघराज खत्री’ चरित्रको लुक्स सार्वजनिक भएको छ । फिल्मका अन्य दुई प्रमुख पात्र प्रदीप खड्का र आर्यन सिग्देलको पात्र चरित्र सार्वजनिक भइसकेपछि निर्देशक दिनेशले शनिबार पलको लुक्स सार्वजनिक गरेका हुन् ।

पलको लुक्समा उनी काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । फोटोले उनी सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य भएको युवकको परिचय दिएको छ ।
निर्देशक राउतले फिल्म जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथाअन्तर्गत बनेको बताए । राउतले केही दिनमा फिल्मको आधिकारिक रिलिज मिति तोक्ने जनाएका छन् ।

कास्कीको कास्कीकोटमा छायांकन गरिएको फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

उनीहरुसँगै फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको अभिनय छ ।

संगीतकार सुवास भुसालको लगानी रहेको फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको शब्द, प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीको स्वर, राजेश श्रेष्ठको डिओपी, सुप्रिम पराजुलीले सम्पादन तथा कलर, हिमाल केसीको द्वन्द्व छ । किङ्डम नेटवर्कको ब्यानरमा बनेको फिल्म आरआर फिल्मसले वितरण गर्नेछ ।