पहिलो किरणको रकम बालबालिकालाई

काठमाडौं । गीतकार गोविन्द गौतमले आफ्नो गीतिसंग्रह ‘पहिलो किरण’ कीर्तिपुरस्थित सगरमाथा फाउन्डेसनद्वारा सञ्चालित हेल्पलेस चिन्ड्रेन होममा रहेका ५० जना बालबालिकालाई आर्थिक सहयोग र खाजा खुवाएर सार्वजनिक गरेका छन् । गीतकार गौतमको एकल शव्द र विकास चौधरीको एकल संगीत रहेको एल्बमलाई होमका बालबालिकाले सार्वजनिक गरेका थिए । एल्वम बिक्रीमार्फत उठेको शतप्रतिशत रकम बालआश्रमलाई नै हुने गीतकार गौतमले बताए । कार्यक्रममै गौतमले बालआश्रमको लागि आर्थिक सहयोगसमेत गरेका थिए ।

कार्यक्रममा एभरेष्ट फाउन्डेसनको तर्फबाट आश्रमका बुबा नरबहादुर लिम्बुको हातबाट गीतकार गौतमलाई फाउन्डेसनको आजीबन सदस्यता स्वरुप सम्मान पत्र प्रदान गरेको थियो । गीतकार गौतम विगत १० बर्षदेखि अमेरीकामा बस्दै नेपाली गीत लेखनमा सक्रिय छन् । ठूला होटल, पार्टी प्यालेसमा एल्बम विमोचन गर्नुभन्दा बालबालिकालाई सहयोग गर्दै सार्वजनिक गर्नु उचित लागेको बताए ।

एल्बममा झर्ने मन छैन, झ्याप्प झ्याप्प, झरेका लाजहरु, आफैंसँग बात गर्छु, पिरतीमा झुमुँ झुमुँ, निष्ठुरीले यो दिल चोरी, तिम्रो रुपको जस्ता गीतहरु रहेका छन् । जसमा अन्जु पन्त, प्रमोद खरेल, मनोज सेवा, बिकाश चौधरी, उषा मलाह, सुनिल राईको आवाज रहेको छ ।