‘सुनकेशरी स्तरीय हरर फिल्म’

काठमाडौं । अभिनयसँगै फिल्म निर्माणमा पनि सक्रिय अभिनेत्री ऋचा शर्मा आफ्नो पछिल्लो फिल्म ‘सुनकेशरी’का कारण निकै चर्चामा छिन् । यसअघि फिल्म ‘को आफ्नो’मा फरक लुक्समा देखिएकी ऋचा फिल्म ‘सुनकेशरी’मा तर्साउने चरित्रमा छिन् ।

जेठ ११ गते प्रदर्शनमा आउने फिल्मको गत बिहीबार सार्वजनिक ट्रेलरमा उनको डरलाग्दो अर्थात तर्साउने रुप र नतर्साउने दुवै रुप देखाइएको छ । ‘मैले सुनकेशरी स्तरीय हरर फिल्म बनाएको छु । अब सेतो साडी लगाएर दर्शक तर्सिने अवस्था छैन। त्यसकारण फिल्म बनाउँदा हरेक कुरालाई वास्तविक बनाउनुपर्छ ।’ उनले भनिन् ।

निर्देशक अर्पणले फिल्मले दर्शक तर्साए पनि दर्शकले आफूलाई नतर्साउने दाबी गरे । फिल्मका निर्माता भीम न्यौपानेले हरर फिल्मको निर्माण चुनौतीपूर्ण भए पनि आफूहरुले त्यो चुनौतीको सामना गरेको बताए । फिल्ममा ऋचा र भीमसहित रविन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारको अभिनय छ। फिल्ममा अष्ट्रलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भूतप्रेतबीचको विषयलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह–निर्माताको रुपमा छन् भने मनोज अधिकारी कार्यकारी निर्माता छन्। फिल्ममा कालीप्रसाद बास्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ ।