चितवनमा धमाधम बिगुल

काठमाडौं । निर्देशक रमेश कोइराला निर्देशित फिल्म ‘बिगुल’ को छायांकन चितवनका विभिन्न स्थानमा धमाधम भइरहेको छ । वैशाख अन्तिमबाट थालिएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् ।

‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्, ‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत र केही सिन काठमाडौंमा खिच्ने छौं ।’ दिनेश कोइरालाको कथा रहेको फिल्ममा सामाजिक विषयबस्तु उठान गरिएको छ ।

फिल्ममा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, नीर शाह, रविन्द्र खड्का, रमेश बुढाथोकी, गीता अधिकारी, सरोज खनाल, शिशिर वाङ्देल, इश्वरी बराललगायतका साथमा नव अभिनेत्री मिरा पण्डितको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा महेश कोइराला र सूर्यकान्त कोइराला निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता कल्पना पौडेल हुन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी कमल राई र कविराज गहतराजले गर्नेछन् । शिब ढकालको छायांकन रहेको फिल्ममा एनवी महर्जनको द्वन्द्व निर्देशन,मौनता श्रेष्ठको पटकथा,श्याम केसीको निर्माण ब्यबस्थापन छ । फिल्म २०८२ भित्रै दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ ।