अस्ताए नक्कली प्रचण्ड घनश्याम

काठमाडौं । ‘नक्कली प्रचण्ड’का रुपमा परिचित कलाकार घनश्याम गौतमको निधन भएको छ । दुई वर्षदेखि क्यान्सरबाट थलिएका गौतमको भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टर ताथलीमा उपचारका क्रममा मंगलबार बिहान १२ः१० मा निधन भएको हो ।

घनश्याम वल्र्ड भिजनको प्रोजेक्ट अन्तर्गत नाटकको अभिनय तालिममा व्यस्त रहँदा उनी अस्वस्थ भएका थिए । ‘काम गरिरहँदा सुरुमा पखाला लाग्यो । विस्तारै दिशामा रगत देखिन थालेपछि पायल्सको लक्षण होला भनेर आयुर्वेदिक औषधि खाएँ । केही समय ठीक भए जस्तो भए पनि पछि एकदमै गाह्रो भयो । दिनमा १५ पटकसम्म शौचालय जानुपर्ने अवस्था आयो’, केही समयअघिको भेटमा घनश्यामले भनेका थिए, ‘असह्य भएपछि म केएमसीमा गएँ । त्यहाँ चेकजाँच गरेर रिपोर्ट भारत पठाएको पन्ध्र दिनमा आन्द्रामा ट्युमर देखिएको रिपोर्ट आयो । डाक्टरले मलाई त केही भन्नुभएन, तर श्रीमतिलाई भनेपछि उनी रुँदै म कहाँ आइन् । श्रीमति रोएको देखेपछि मलाई पक्कै केही भयो भन्ने झस्का पसिसकेको थियो ।’

४२ वर्षअघि झापाको गौरादहस्थित जोरघरेमा जन्मिएका घनश्यामले ११ वर्षको उमेरदेखि हातेमालो रेडियो कार्यक्रमबाट कलाकारिता यात्रा सुरु गरे । उनले हालसम्म ३ हजारभन्दा बढी रेडियो नाटक, हजारौं सडक नाटक तथा सयौं स्टेज नाटकमा अभिनय गरिसकेका छन् ।

स्क्रिप्ट लेखक, कलाकार, गीतकार र निर्देशक समेत रहेका उनले ‘मेरी बास्सै’, ‘झ्याइँकुटी झ्याइँ’, ‘जिरे खोर्सानी’, ‘गोलमाल’, ‘टेन टु फाइभ’, ‘खासखुस’, ‘हाक्काहाक्की’जस्ता टेलिफिल्ममा अभिनय गरेका छन् । उनले ‘शेरे द शेरबहादुर (जोक्स सिरिज)’, ‘ट्वाकेन्द्र निवास’जस्ता कमेडी टक शो पनि चलाएका छन् ।

हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा नक्कली प्रचण्डको भूमिकामा अभिनय गरेर लोकप्रिय बनेका घनश्याम अस्पतालमा क्यान्सरको उपचार गराईरहँदा सक्कली प्रचण्ड अर्थात पुष्पकमल दाहालबाट सहयोग हुन्छ भन्ने निकै आशावादी थिए ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भत्काएको घनश्यामको भक्तपुरको कटुञ्जेस्थित घर हेर्न प्रचण्ड असारमा केही कलाकारसहित पुगेका थिए । अस्पतालमा क्यान्सरको उपचार गराइरहेका घनश्यामलाई भेट्न अस्पताल नै पुगेका प्रचण्डले उपचारका लागि सहयोगको आश्वासन दिए पनि त्यो आश्वासन पुरा हुन सकेन । जसकारण घनश्यामले सामाजिक सञ्जाल फेसबुकमार्फत नै प्रचण्डप्रति रोष व्यक्त गरेका थिए ।

उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।