मुम्बई(एजेन्सी) । फिल्म ‘सितारे जमीन पर’मा प्रमुख भूमिकामा देखिन लागेका अभिनेता आमिर खान रजनीकान्तको फिल्म ‘कुली’मा केमियो गर्दैछन् । आमिरले नै यो कुराको पुष्टि गरेका छन् ।
लोकेश कनगराजको निर्देशनमा निर्माण भएकाे फिल्ममा आमिरको सानो तर दमदार भूमिका हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले आफू रजनीकान्तको ठूलो फ्यान भएकै कारण त्यो फिल्ममा जोडिन सहमत भएको बताएका छन् ।
उनले आफू रजनीकान्तको ठूलो फ्यान भएकै कारण स्क्रिप्ट नसुनी ‘हुन्छ’ भनेको खुलाए । ‘जब लोकेशले मलाई रजनीकान्त सरको फिल्म हो भने, मैले तुरुन्तै हुन्छ भनिदिएँ’, आमिरले भनेका छन्,‘मलाई केमियो गर्न निकै मजा आयो । म रजनी सरको ठूलो फ्यान हुँ । उहाँका लागि मेरो मनमा ठूलो इज्जत र प्रेम छ । त्यसकारण मैले स्क्रिप्ट पनि नसुनेर ‘हुन्छ’ भनिदिएँ ।’
यो फिल्म सन पिक्चर्सले निर्माण गरेको छ । फिल्ममा रजनीकान्तका अलावा सौबिन शाहिर, नागार्जुन, श्रुति हासन, सत्यराज र उपेन्द्रलगायतको अभिनय छ । फिल्मलाई सन् २०२५ मै विश्वभर स्टेण्डर्ड र आइम्याक्स दुवै फम्र्याटमा रिलिज गरिनेछ ।