काठमाडौँ । लेखक तथा पत्रकार राज सरगम निर्देशित सर्ट फिल्म ‘कलर अफ टी’ युरोपको ग्रिसमा भएको ‘१२औँ अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवाड्र्स’ मा पुरस्कृत भएको छ । अन्तर्राष्ट्रिय फिल्म निर्णायक मण्डलले बुधबार ‘कलर अफ टी’ लाई पुरस्कृत गरेको हो ।
आयोजकले आफ्नो वेब साइटमा आधिकारिक रूपमा पुरस्कृत फिल्महरूको सूची सार्वजनिक गर्दै ‘दोस्रो महोत्सव पुरस्कार राज सरगम (नेपाल) द्वारा लिखित तथा निर्देशित अन्तर्राष्ट्रिय छोटो फिल्म कलर अफ टीलाई जान्छ’ भनी उल्लेख गरेका छन् ।
यो अवार्डस्ले ग्रिसमा विश्वभरका उत्कृष्ट लामा र छोटा वृत्तचित्र र सर्ट फिल्मलाई आफ्नो प्रतिस्पर्धात्मक खण्डमा प्रदर्शनका लागि प्रवद्र्धन गर्दछ ।
राजको सर्ट फिल्मले मधेसका जातीय भेदभावलाई निरन्तरता दिने सुक्ष्म आक्रमकता र हिंसाविरुद्ध मौन विद्रोह गर्ने दलित आदिवासीको कथालाई बोलेको छ
यही फिल्मले गत जुलाईमा कोरियामा दिगो विकास लक्ष्य २०२५ को लागि ‘कोरिया ग्योंगी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा उत्कृष्ट पुरस्कार जितेको थियो ।
त्यस्तै सर्ट फिल्म जर्मनीमा आगामी सेप्टेम्बरमा हुने ‘कोबानी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा क्वार्टर फाइनलमा पुगेको छ । युरोपकै मोन्टेनेग्रो पोडगोरिकामा भएको ‘एमओडी फेस्टस्ः अल्पसंख्यक खुला दिन २०२५’ पनि छनोट भएको थियो ।






