काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती ‘आचार्य’को छायांकनका लागि भारत गएका छन् । निखिलसहित फिल्मको निर्माण टिम मंगलबार काठमाडौँबाट पश्चिम बंगाल गएको हो ।पश्चिम बंगाल जाने टोलीमा निखिलसँगै निर्मात्री तथा अभिनेत्री सञ्चिता लुँइटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकारसमेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी छन् ।
निर्देशक निखिलका अनुसार फिल्मको छायांकन यही शुक्रबारदेखि भारतको डुअर्सबाट सुरू हुनेछ । ‘डुअर्सबाट पहिलो चरणको छायांकन सुरू हुनेछ, सोही सेड्युलमा बाग्डोरा, सिलिगुडी र ठाकुरगन्जमा फिल्मको छायांकन हुनेछ,’ निखिलले भने, ‘दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड र तेस्रो चरणमा नेपालमा खिचिनेछ । ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’
फिल्ममा निखिलसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारीको अभिनय रहनेछ । फिल्ममा अभिनेत्री सञ्चिताको कोरियोग्राफी हुनेछ । सन् २०१५ मा रिलिज फिल्म ‘भैरव’ बाट निर्देशनमा डेब्यु गरेका निखिलको ‘आचार्य’ दोस्रो निर्देशकीय फिल्म हो ।






