काठमाडौँ । फिल्म ‘गोबर गणेश’को छायांकन सुरु भएको छ । काठमाडौँको म्हेपी मन्दिरमा मंगलबार मुहूर्त गरेसँगै फिल्म छायांकनमा गएको हो । मुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडे भने कलाकार रवि गिरीले क्ल्याप हानेका थिए ।
फिल्मका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ले ३५ दिनको समय तालिकामा काठमाडौँबाट सुरु भएको छायांकन पोखरालगायतका स्थानमा हुने बताए । उनले सानो पर्दामा दर्शकले साथ दिएजस्तै ठुलो पर्दामा पनि दर्शकको साथ पाउने आशा गरे ।
‘मेरी बास्सै’बाट दर्शकमाझ चिनिएका मरिचमानको टेलिफिल्म ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् । बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्म आगामी १ माघमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा वर्षा सिवाकोटी, मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सनविक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे ९पुकु०को अभिनय छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा योगेश काजी शाहको बिजिएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डिओपी र विपीन मल्लको सम्पादन रहनेछ ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस् इन्टरटेनमेन्टले गर्नेछ ।






