५० लाख बजेटमा खिचियो माइतीघरको शीर्ष गीत

काठमाडौं । आगामी असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को शीर्ष गीतको छायांकन सकिएको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार बाग्लुङमा ११ दिन लगाएर गीत छायांकन गरिएको हो । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

निर्माता अधिकारीले गीत खिच्न ५० लाख खर्च भएको बताए । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । गीतको भिडियोमा कोरसको जम्बो टोलीलाई नचाइएको छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा यो फिल्म निर्माण भएको हो ।

यो गीतको भिडियो आउँदो साता सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्माणपक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने मध्ये एक जना उत्कृष्टलाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिसकेको छ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदारप्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।