मिस ग्लोब छायाथानुसको नेपाल मोह

काठमाडौँ । सन् २०२५ मा अल्बायिनामा भएको सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोब २०२५’ की विजेता छायाथानुस सरादत्त नेपाल आएकी छन् ।उनी इस्ट एसियन मेडिकल स्टुडेन्ट्स कन्फ्रेन्समा सहभागिता जनाउन नेपाल आएकी हुन् । थाइल्यान्डकी सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।

उनलाई त्रिभूवन विमानस्थलमा ‘मिस्टर एन्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डा.सन्तोष उपाध्यायसहित ‘मिस ग्लोब नेपाल’का विजेताहरूले स्वागत गरेका थिए । सरादत्तसँगै ‘मिस ग्लोब’का अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि नेपाल आएका छन् ।

सरादत्तले नेपाल भ्रमणमा आफूले नेपालका हिमालहरु हेर्ने बताएकी छन् । ‘मैले यहाँका हिमालबारे धेरै सुनेकी छु, म पहाड र हिमालतिर घुम्न चाहन्छु,’ उनले भनिन् । ८० भन्दा बढी देशको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालबाट रिजु भट्टराईले सहभागिता जनाएकी थिइन् ।डा। उपाध्यायका अनुसार सरादत्त र उनको टोली नेपालमा ५ दिनसम्म बस्नेछन् । उनले उनीहरूले काठमाडौँसहित आसपासका पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्ने बताए ।

औपचारिक भेटघाटअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा समय मिलेमा प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । गत वर्ष ‘मिस ग्लोब’की विजेता डायना मोरेनो नेपाल आएकी थिइन् । उनले ‘मिस नेसनल नेपाल’को अडिसनमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।