बंगलादेशमा द चेन्ज र तान्त्रिक डान्सलाई अवार्ड

काठमाडौँ । बंगलादेशको बोगरामा भएको ‘छैटौँ बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली सर्ट फिल्म ‘द चेन्ज (परिवर्तन)’ र नेपाली वृत्तचित्र ‘तान्त्रिक डान्स’ ले अवार्ड जितेको छ । महोत्सवमा ३२ देशका ७४ फिल्म सहभागी थिए । महोत्सवमा नेपालबाट ३ वटा सर्ट फिल्म र एक वृत्तचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी थिए ।

गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित ‘द चेन्ज’ महोत्सवमा ‘इन्टरनेसनल सर्ट इन्डोर’ विधाअन्तर्गत चयन भएको थियो । यो विधामा फिल्मले ‘अनरेबल मेनस अवार्ड’ पायो । महोत्सवमा फिल्मबाट निर्देशक क्षेत्रीसहित अभिनेता प्रवण भुसाल, अभिनेत्री एवं गायिका सरिता भारती र मेकअप आर्टिस्ट बिना रानामगर सहभागी थिए । फिल्ममा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीको अभिनय छ ।

महोत्सवमा नेपालबाटै फिल्म निर्देशक केपी पाठकद्वारा निर्देशित वृत्तचित्र ‘तान्त्रिक डान्स’ले अन्तर्राष्ट्रिय तर्फ ‘अनरेबल मेनस अवार्ड’ पायो । यो वृत्तचित्र कात्तिक नाचमा आधारित छ ।पुण्ड्रनगर फिल्म सोसाइटी बोगराले आयोजना गरेको यो महोत्सव बोगराको मधुवन सिनेकम्प्लेक्समा ३ दिनसम्म चलेको थियो ।

महोत्सवको निर्णायकमा नेपालबाट नेपाल इन्टरनेसनल कल्चरल फिल्म फेस्टिभलका अध्यक्ष सन्तोष सुवेदी, निर्माता मोहम्मद रकिबुल हसन, निर्देशक खण्डेकर सुमन, फिल्मकर्मी अन्तु आजाद, छायांकार शेख राजिबुल इस्लाम, निर्माता राजिबुल हुसेन र जीवन शाहदत थिए ।

महोत्सव निर्देशक सुपिन बर्मनले बंगलादेशमा भएका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमध्ये यो दोस्रो ठुलो महोत्सव भएको बताए । महोत्सव अध्यक्ष एम.रहमान सागरले सरकारबाट कुनै पनि आर्थिक सहयोग नहुँदा पनि आफूहरूले महोत्सव गर्दै आएको बताए ।