काठमाडौं । फिल्म ‘मिरमिरे’को ट्रेलरमा देखिएकी बालिका शाइसा गौचनले यतिबेला सबैको ध्यान खिचेकी छन् । अभिनेता दयाहाङ राईको छोरीको भूमिकामा देखिएकी उनको संवादले पनि उनी चरित्रप्रति कति गम्भीर छिन् भन्ने देखाएको छ ।
फिल्ममा उनले आमाको अभाव महसुस गरिरहेकी छोरीको भूमिकामा निभाएकी छिन् । सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा उनलाई देख्न सकिन्छ ।
शाइसाले यसअघि दयाहाङ अभिनित दुई फिल्म ‘महाभोज’ र ‘बरिष्ठ बलराम’मा अभिनय गरिसकेकी छन् । ‘यसअघिका फिल्ममा पनि शाइसाले दयाहाङसँगै काम गरेकाले मिरमिरेमा काम गर्न सहज भयो,” मिरेमिरेका लेखक तथा निर्देशक यम शेर्पाले भने, ‘दयाहाङ दाइसँग यसअघि नै घुलमिल नभएको भए सायद सुरुसुरुमा काम गर्न कठिन हुने थियो ।’
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
फिल्म देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।







