कालकट्टी र काकाको बिहे बनाउँदै रघुजी फिल्मस्

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण गर्ने भएको छ । लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको टिमअपबाट निर्माण हुन लागेका यी फिल्मले नेपाली फिल्ममा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने दाबी निर्माण पक्षको छ । दुवै फिल्म आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष छ ।

रघुजी फिल्म्सले पोस्टरमार्फत पहिलो झलक दिँदै फिल्मको आधिकारिक घोषणा गरेको छ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका दुई फिल्ममध्ये ‘कालकट्टी’ छायांकनतर्फ अघि बढ्ने तयारीमा छ। फिल्मको छायांकन माघ महिनाको अन्त्यतिर सुरु हुने बताइएको छ। कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया हाल तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।

फिल्म ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन्। छायांकनको जिम्मा निसाल पौडेलको काँधमा रहनेछ भने संगीतकार भीम बिष्टले फिल्मका भावनालाई संगीतमा उतार्नेछन्। फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ । ‘कालकट्टी’ को छायांकन सकेर रिलिजको तयारी संगै ‘काकाको बिहे’ को छायांकन सुरु हुनेछ।