दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम मतला सार्वजनिक

काठमाडौँ । भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक भएको छ । दार्जिलिङको रिदम रेकरडिङ्सले प्रस्तुत गरेको एलबम दार्जिलिङकै सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा तयार भएको हो ।

गजलकारहरू राधा कणेलका ३, रश्मि असफल र घनेन्द्र ओझाका २–२ वटा गजलहरू समेटिएको एलबममा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् । एल्बममा दार्जिलिङका रजनी ऋदम राई, इस्माइल दास र सृष्टि आचार्य प्रधान तथा नेपालका शिव परियार र निशा देशारले स्वर दिएका हुन् ।

काठमाडौँमा शनिबार गरिएको एलबममाथि समीक्षा गर्दै सङ्गीतकार सन्तोष श्रेष्ठले नेपाली गजल गायनको स्वर्ण दशक, वि। सं। २०८०(२०९० अभियानअन्तर्गत भारतबाट समेत नेपाली गजल आउनुले अब नेपाली गजल लेखनसँगै गायनले पनि व्यापकता पाएको बताए । श्रेष्ठले एल्बम साङ्गीतिक हिसाबले सुन्दर र सशक्त भएको सुनाए ।

श्रेष्ठले भने, ‘सङ्गीतको भाषा, भूगोल हुँदैन । व्यक्तिको संवेदना छुने हरेक सङ्गीत विश्वव्यापी बन्छ ।’ उनले यस एल्बमले नेपाली गजल गायनलाई अन्तर्राष्ट्रियकरण गरेको पनि बताए । अर्का समीक्षक गजलकार, गीतकार एवं सङ्गीतकार करुण थापाले गजलले सङ्गीतको श्वास पाएपछि मात्र जीवन्त बन्ने धारणा राखे ।

गजलकार राधा कणेलले एलबम रेकर्ड गर्दाका सन्दर्भ जोड्दै सङ्गीतकार प्रधान परिष्कृत साधक रहेका र अत्यन्त मिहिनेतपूर्वक एल्बम तयार भएको बताइन् । रश्मि असफलले २० वर्षभन्दा लामो समयदेखि गजल लेखिरहे पनि सङ्गीतमा भर्खरै आउन थालेको सुनाइन् । गत २७ पुसमा असफलकै शब्दमा सन्तोष श्रेष्ठले कोशी प्रदेशको झापामा एकल गजल गायन ‘रश्मि गजल गुञ्जन’ सम्पन्न गरेको जानकारी पनि उनले दिइन् ।

गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझाले सङ्गीतकार सन्तोष श्रेष्ठ र आफूले घोषणा गरेको नेपाली गजल गायनको स्वर्ण दशक, वि। सं। २०८०(२०९० अभियानले देशको सीमा नाघिसकेको भन्दै यस अभियानमा सबैलाई जोडिन अनुरोध गरे

सङ्गीतकार प्रधानले आफू ४० वर्षदेखि सङ्गीतमा समर्पित भए पनि सधैँ विद्यार्थी जस्तै भएको भन्दै निरन्तर साधनाले गजल सङ्गीततर्फ मोडेको सुनाए । गजलकार तथा गीतकार प्रा. डा. कृष्णहरि बरालले गजलले नेपाली गजल सङ्गीतका क्षेत्रमा विशेष अर्थ र महत्त्व राख्ने बताए ।

अनाममण्डलीले आयोजना गरेको कार्यक्रमलाई लभ एन्ड सपोर्ट फाउन्डेसन, नेपालले व्यवस्थापनमा सहयोग गरेको थियो । कार्यक्रमको सभापतित्व अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले गरेका थिए भने सहजीकरण ज्ञानु विद्रोहीले गरेका थिए ।