अभिनेता विजयले गाए विधिको शासन

काठमाडौं । अभिनेता विजय बरालको स्वर रहेको गीत ‘विधिको शासन’ सार्वजनिक भएको छ । गीतमा वर्तमान राजनीतिक व्यवस्था र विसंगतिविरुद्धको आवाज उठाइएको छ ।

सौरभ कार्कीको शब्द र प्रशान्त शिवाकोटीको संगीत रहेको यस गीतले भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलन र त्यसले उठाएका मुद्दाहरूलाई बोकेको छ ।

देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पनि पद्धति र विधिको शासन अनिवार्य हुने सन्देश गीतले दिएको छ । २०४० सालको जनआन्दोलनदेखि २०६२र६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ ।

‘वास्तवमा म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ’, विजय भन्छन्, ‘यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन । यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा व्यङ्ग्य र खबरदारी हो । देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।’

मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू प्रयोग गरिएको छ । २०४६ सालका आन्दोलनकारीदेखि २०६२र६३ को दोस्रो जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा प्रहरीको दमन र युवाहरूको आक्रोशलाई भिडियोमा दुरुस्त उतारिएको छ ।