नेपाल भाषाको ओटीटी नेवा फ्लिक्स सुरु

काठमाडौं। नेपालभाषाका फिल्म, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वमाझ पुर्‍याउने उद्देश्यसहित नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म नेवा फ्लिक्स सार्वजनिक गरिएको छ। इलोहं इन्टरटेनमेन्टको आयोजनामा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा ओटीटी घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहभागी थिए। साथै इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्य, सिइओ दर्शनवीर शाक्य, किर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जन, फोटोग्राफर राजभाई सुवाललगायतको उपस्थिति थियो ।

बोर्ड अध्यक्ष डीसीले विगतको सांस्कृतिक आन्दोलन सम्झँदै भने, ‘कुनै बेला हामी ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ’ भन्दै पम्प्लेट छाप्थ्यौं, भित्ते लेख्थ्यौं। त्यो भाषा जोगाउने संघर्षको समय थियो। अहिले संघर्षको रूप फेरिएको छ—अब डिजिटलमै भाषा जोगाउनुपर्छ।”

उनले प्रविधिसँग नजोडिएको भाषा र फिल्म टिक्न नसक्ने उल्लेख गर्दै नेवा फ्लिक्स जस्ता प्लेटफर्म समयको आवश्यकता भएको बताए ।

डीसीले नेपाल चलचित्र विकास बोर्डले पुराना क्लासिक कृतिहरू—‘सिलु’ र ‘राजमती’ लगायत—को डिजिटलाइजेशनमा जोड दिइरहेको जानकारी पनि दिए।इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २६ वर्षदेखि प्रकाशन क्षेत्रमा सक्रिय संस्थाले समयअनुसार प्रविधिसँग अघि बढ्ने निर्णय गर्दै नेवा फ्लिक्स सुरु गरेको बताए।

सिइओ दर्शनवीर शाक्यका अनुसार दुई वर्षको मेहनतपछि प्लेटफर्म तयार भएको हो। इन्टरनेटमार्फत नेपालभाषाका सिनेमा, म्युजिक भिडियो तथा सांस्कृतिक सामग्री हेर्न सकिने जानकारी दिँदै उनले दर्शकको साथ र सहयोगको अपेक्षा गरे।

‘२०२२ सालतिर नेपालभाषामाथि बन्देज थियो, अहिले समय परिवर्तन भइसकेको छ। अब व्यावसायिक रूपमा सशक्त बन्ने बेला आएको छ,’ उनले भने।

किर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले नेपालभाषा चलचित्र प्रदर्शनमा समस्या आए सहकार्य गर्न तयार रहेको बताए। फोटोग्राफर राजभाई सुवालले फिल्म प्रदर्शनको स्वरूप रीलबाट ओटीटीमा रूपान्तरण भएको उल्लेख गर्दै नेपालभाषा सिनेमा पनि नयाँ युगमा प्रवेश गरेको बताए।

आयोजकका अनुसार नेवा फ्लिक्सले सिनेमा हलसम्म पुग्न नसक्ने दर्शकलाई घरमै बसेर सामग्री हेर्ने अवसर दिनेछ। साथै नेपालभाषा चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्‍याउने दीर्घकालीन लक्ष्य लिइएको छ।