काठमाडौं । भारतका भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन् । चलचित्र बिकाश बोर्डको आयोजनामा आइतबारदेखि तीनदिनसम्म चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागि उनी शनिबार बिहान १० बजे काठमाडौं उत्रिएका हुन् ।
पहिलोपटक नेपाल आइपुगेका अमितले बिमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै भने, ‘अहिलेको दुनियामा विश्वभरीका कन्टेन्ट सजिलै हेर्न सकिन्छ । त्यसका लागि भाषाको माध्यमले ठुलो भूमिका खेल्छ । नेपाली भाषामा भ्वाइस डबिङको काम गर्न सक्ने धेरै अवसरहरु छन् । यो तीनदिन मेरो अनुभव र मैले जानेका केहि कुरा सिकाउने प्रयास गर्नेछु ।’
चलचित्र बिकाश बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले दक्षता अभिबृद्धि कार्यक्रमलाई अगागि सारेको र विभिन्न १४ वटा विषयमा तालिम राखिएकोमा भ्वाइस एक्टिङलाई पनि विशेष प्राथमिकता दिइएको बताए । डिसीका अनुसार बोर्डले ड्रोन ट्रेनिङ, फिल्म लाइट ग्याफर तालिम, मेकअप तालिम, एआई वर्कसप, फोटो तथा भिडियो पत्रकार प्रशिक्षण तालिम तथा पौडी तालिमपनि चैत महिना भित्रै दिदैछ ।
पछिल्लो समय नेपालमा थुप्रै फिल्मको डबिङ तथा साउण्ड मिक्सिङको काम गरिरहेका सम्राट फिल्मस्का सन्चालक भरत कँडेल आफैमा १५ बर्षबढी मुम्बईमा साउण्डमै काम गरेका आएका ब्यक्ति हुन् । विश्वकै चर्चित युट्युवर मिस्टर बिस्टको नेपाली भाषामा डबिङको काम पनि सम्राट फिल्मस्ले नै गर्दै आएको छ ।
भ्वाइस आर्टिष्ट अमित डिओंडीले अमेजन, नेटफिलिक्स तथा चर्चित प्लेटफर्मका लागी ३ हजार बढी सिरिज तथा फिल्महरुमा भ्वाइस डबिङ तथा लेखनको काम गरिसकेका छन् । साथै चर्चित कार्टुन सिरिज मोटु पत्लुको ‘मिक्की अनलाइन’ क्यारेक्टर अमितले नै आवाज दिँदै आएका छन् ।




