काठमाडौं । हिउँले ढाकिएको शान्त सहर सदबरीबाट नेपथ्यले यस वर्षको क्यानाडा शृङ्खला सुरु गरेको छ । यहाँस्थित ‘सदबरी कम्युनिटी एरेना’ मा शुक्रबार पहिलो प्रस्तुति दिँदै ब्यान्डले नेपाली लोकरक सुनाएको छ ।
ओन्तारियो राज्यकै व्यापारिक केन्द्र टोरोन्टोबाट झन्डै चार सय किलोमिटर टाढा पर्ने यस सहरमा केही वर्षअघिसम्म पनि नेपाली फाट्टफुट्ट मात्रै देखिन्थे । हाल यहाँ नेपालीको सङ्ख्या दुई हजार पुगिसकेको छ । कन्सर्टमा निकै परदेखि आएका दर्शक पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् सन्ध्या खनाल । उनी नेपथ्य अनुभवकै लागि १४ घण्टा पर थन्डरबे देखि गाडीमा आएकी थिइन् ।
‘नेपथ्यको अघिल्लो क्यानाडा यात्रामा सहभागी हुन नपाएपछि यसपाला नछुटाउन निकै अघिदेखि तयारी गरेकी थिएँ,’ केयरगिभरका रूपमा कार्यरत सन्ध्याले कन्सर्ट हेरिसकेपछि भनिन्, ‘यति परको जीवनमा पनि नेपालै पुगेजस्तो महसुस भइरहेको छ । यो मेरा लागि जिन्दगीकै महत्त्वपूर्ण अनुभव पनि हो ।’ कन्सर्टमा गायक अमृत गुरुङले ब्यान्डका लोकप्रिय गीतदेखि राष्ट्रिय भावना बोकेका गीतसम्म सुनाएका थिए । मुलुकको सुन्दरता बयान गर्ने गीतहरू गाइरहँदा उनले दर्शकलाई नेपाल जाँदा पदयात्रा गर्न प्रोत्साहन पनि गरे ।
अवकाशप्राप्त बेलायती सेना तेन्जिङ लिम्बु २० वर्षअघि टोरन्टोबाट बसाइँ सरेर सदबरी आउँदा स्थानीयमा नेपालीको पहिचानसमेत नरहेको सुनाउँदै अब भने सहरकै उल्लेख्य समुदायका रूपमा विकास हुन थालेको बताए । ‘यस सहरमा आजसम्म भएका नेपाली कार्यक्रमहरूमै यो सबैभन्दा भव्य र सभ्य बन्न पुगेको छ,’ लिम्बुको प्रतिक्रिया थियो, ‘यस कार्यक्रमले नेपालीको आयोजनालाई सहरवासीबीच नयाँ उचाइ र स्तर दिएको छ ।’
मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
यसरी यस वर्षको क्यानाडा शृङ्खलाबद्ध यात्राको पहिलो प्रस्तुति सफलतापूर्वक सम्पन्न भएसँगै नेपथ्यमा आबद्ध साङ्गीतिक, प्राविधिक र व्यवस्थापकको सिङ्गो टोली दोसो कन्सर्टको तयारीमा जुटिसकेको छ ।
दोसो प्रस्तुति मुलुककै मुख्य व्यापारिक केन्द्र टोरन्टोमा हुनेछ । त्यहाँस्थित ‘क्विन एलिजाबेथ थिएटर’ मा अप्रिल १३ सोमबारका लागि कार्यक्रम तय भएको छ । मुख्य सहरको पश्चिम भागस्थित प्रदर्शनी केन्द्रमा पर्ने यो हल आधुनिक कन्सर्ट थलोका रूपमा प्रसिद्ध छ । २५ सय दर्शक अटाउने यस हलमा शो हुनुभन्दा तीन साताअगावै टिकट ‘सोल्डआउट’ भइसकेको छ ।
टोरन्टोपछि ब्यान्ड ओन्तारियो राज्यकै अर्को सहर लन्डन प्रस्थान गर्नेछ । त्यहाँ अप्रिल १८ मा यात्राकै अन्तिम कन्सर्ट हुनेछ । टोरन्टोमा धेरै पहिले टिकट समाप्त भएका कारण त्यहाँ छुटाएका दर्शक लण्डन कन्सर्टमा सहभागी हुने विश्वास आयोजकले लिएका छन् ।




