एक मुठ्ठी बादलः फरक भावमा कलाकार

काठमाडौं । फिल्म ‘एक मुठ्ठी बादल’ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ ।। पोस्टरले फिल्मभित्र रहेका कलाकारलाई चिनाउँदै फिल्मको कथा पारिवारिक कथामा केन्द्रित रहेको संकेत दिएको छ ।

पोस्टरको केन्द्रमा आँचल शर्मा छिन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन् । घरभित्र सजिएको अवस्थामा रहेका उनीहरुको भावले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ ।

पोस्टरको अग्र भागमा कलाकार निशा शर्मा र शेखर चापागाईं छन् भने पछाडिको भागमा सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन् ।

त्यसैगरी भीमा मैनेली, उषा रजक, मनिष निरौला र अविरल प्रताप अधिकारी मिलेर एउटा यस्तो परिवार बनेको देखिन्छ । अर्को पोस्टरमा भने निशा शर्मा, आँचल शर्मा र उषा रजकलाई मात्र स्थान दिइएको छ । यसमा पनि आँचललाई केन्द्रमा राखिएको छ र निशा शर्मा र उषा रजकका उत्सुक आँखाले आँचललाई नै हेरिरहेका छन् । यसले तीन महिलाबीचको सम्बन्धलाई संकेत गरेको छ ।

सहारा शर्मा द्वारा लिखित तथा निर्देशित यस फिल्मका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन्। निर्माताहरूमा सारा फाजिलात, सामीप्य राज तिमल्सेना, अनुप पौडेल रहेका छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् ।

गौथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह(निर्माणमा बनेको यो फिल्म नेपालभर जेठ १बाट प्रदर्शनमा आउनेछ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।