महाराजधिराजमा केकी महारानी

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री केकी अधिकारी ‘महारानी’ का रुपमा भित्रिएकी छन् । फिल्मका प्रस्तुतकर्ता विराज विष्टले फेसबुकमा केकीसँगको सम्झौताको तस्वीर राख्दै ‘महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,’ लेखेका छन् ।

तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन् । केही दिनअगाडि मात्रै यो फिल्मको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए ।

यही वैशाखको दोस्रो साता पछिबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको लाइनअप निर्देशक परिच्छेद सेनले बलियो बनाएका छन् । फिल्ममा पुष्प र केकीसँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायतको अभिनय छ ।

फिल्मको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा फिल्म खिचिनेछ । नबराज थापाले छायांकनको जिम्मेवारी लिएका छन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।