काठमाडौं । फिल्म ‘बाः एक योद्धा’मा अभिनेता दिव्यदेव पन्त अनुबन्ध भएका छन् । गत चैत्र ९ गतेदेखि छायांकन सुरु भएको यो फिल्ममा यसअघि नै झरना थापा र उनकी अभिनेत्री छोरी सुहाना थापा अनुबन्ध भई फिल्मको काम गरिरहेका छन् ।
झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन् । फिल्ममा पनि उनीहरु आमा र छोरीकै भूमिकामा देखिनेछन् । निर्माण पक्षले दिव्यदेवको भूमिकाबारे केही खुलाएको छैन ।
फिल्ममा गायक तथा संगीतकार हरि लम्सालको डेब्यू निर्देशन छ । फिल्ममा उनकै कथा र पटकथा छ । निर्देशक लम्सालका अनुसार फिल्मले एक बाबुको कथा बोल्नेछ। एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्मका निर्माता वसन्त लम्साल हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन र तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन छ । हाल फिल्मको काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।




