कर्णाली । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले फिल्मको माध्यमबाट नेपाली फिल्मको प्रवर्द्धन र विकाससँगै कर्णालीमा फिल्म पर्यटनको सम्भावनालाई उजागर गर्ने एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ मार्फत नेपालको कर्णाली क्षेत्रलाई केन्द्रविन्दु बनाई सहरदेखि गाउँसम्म फिल्म र पर्यटन जोड्न विविध गतिविधि सञ्चालन गर्छौँ । यहाँ प्रचुर सम्भावना भए पनि पर्यटन विकास र फिल्मसँग सम्बन्धित गतविधिहरू प्रायः शून्य छन् ।’
कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भाषा, वेशभूषा, कला, संस्कृति, साहित्य, परम्परा र रीतिरिवाजलाई संरक्षण र प्रवर्द्धनका लागि राज्यको भूमिका प्रायः शून्य रहेको स्थितिलाई मध्यनजर गर्दै जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने अभियानका साथ कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियानको थालनी गरिएको निर्देशक चन्दले बताए ।
साहित्यकार, लेखक तथा महोत्सवका सल्लाहकार महेन्द्र मल्लले कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिताको घोषणा गरी विज्ञहरूबाट कथा छनोट कार्य भइरहेको बताए । उनले कर्णालीको मौलिकता झल्कने, कल्पनामा नभई यथार्थतामा आधारित कथाहरूलाई प्राथमिकतामा राखेर छनोट गरिने र उत्कृष्ट कथा लेखन लागि रु एक लाख राशि प्रदान गरिने जनाए ।
खासगरी पर्यटन प्रवर्द्धन, सांस्कृतिक उजागर, सामाजिक रुपान्तरण, आर्थिक समृद्धि, अन्तरराष्टिय पहिचान, सिनेमाको पहुँच वृद्धि गर्न र कर्णालीलाई फिल्म पर्यटन तथा छायाङ्कनको हब बनाउन फिल्म छायाङ्कन गर्न आउने स्थिति निर्माण गर्न यो महोत्सवले ठूलो योगदान दिने अपेक्षा गरिएको छ । सुर्खेतबाट शुभारम्भ गरिएको महोत्सव सल्यानको कुपिण्डे ताल, रुकुमपश्चिम, जाजरकोट, दैलेख, कालीकोट हुँदै जुम्लामा पुगेर समापन गरिने आयोजकले जनाएको छ ।




