दमक । आदिवासी जनजाति मातृभाषी फिल्मको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले झापाको दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ। चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी सङ्घको आयोजनामा शनिबारदेखि सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ। तालिमको उद्घाटन कोशी प्रदेशका सांसद नम्बरलाल धिमालले गरे ।
तालिममा स्थानीय धिमाल समुदायका २० जना युवा फिल्मकर्मी सहभागी छन्। तालिमको सहजीकरण फिल्म निर्देशक अरुण प्रधानले गरिरहेका छन् । कार्यक्रममा चलचित्र विकास बोर्डको तर्फबाट बोर्डका अधिकृत अप्सरा समालको सहभागिता रहेको छ। मातृभाषी फिल्ममार्फत स्थानीय भाषा, संस्कृति, मौलिक कथा र समुदायको पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।
विशेषगरी धिमाल समुदायका युवालाई फिल्म निर्देशनको आधारभूत ज्ञान, कथा प्रस्तुति, दृश्य भाषा, कलाकार परिचालन र निर्माण प्रक्रियासम्बन्धी सीप प्रदान गर्ने लक्ष्य तालिमले लिएको छ।




