असार ५ मा जितुको आइ एम जितबहादुर

काठमाडौँ । अभिनेता जितु नेपालको निर्माण रहेको फिल्म ‘आइ एम जीत बहादुर’ आगामी असार ५ गते रिलिज हुने भएको छ । निर्माण टिमले सोमबार फस्टलुकसँगै रिलिज मिति पनि सार्वजनिक गरेको हो ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशन रहेको फिल्मको फस्टलुकमा फिल्मका प्रमुख पात्र जितु नेपाल र वर्षा राउतलाई देख्न सकिन्छ । फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।

सुभेन्दुकै कथा रहेको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।