काठमाडौं । गीतकार डम्बर याक्सोद्वारा रचित पाँच गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष शुभ मुकारुङको सभापतित्व एवम् सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाको प्रमुख आतिथ्यतामा भिडियो लोकार्पण गरिएको हो । भिडियोका गीत ‘मुस्कान छैन’, ‘आमाको तिर्सना’, ‘म त तिम्रो नजरमा जिउँदै मरेको मान्छे’, ‘निष्ठुरी रहेछौ दैव’, ‘अति सुन्दर छ हाम्रो हाङपाङ गाउँ’ छन् ।
कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेतीले डम्बर याक्सोका सिर्जनाले मन जितेको बताइन् । उनले गीत सङ्गीत र साहित्य देशको अभिन्न अङ्ग भएको बताइन् । सङ्गीतकार बुलु मुकारुङले डम्बर याक्सो विशिष्ट श्रेणीको गीतकार भएको बताउँदै उनका गीतमा खगोल र भूगोल, मानवीय संवेदना, लाहुरेको कथा र माटोको सुगन्ध भएको दाबी गरे ।
गोपीकृष्ण प्रसाईंले साहित्यका विविध विधामा कलम चलाउने गीतकार डम्बर याक्सोले हाङपाङ्ग जस्तो जन्मभूमिदेखि विश्व भ्रमणका क्रममा भोगेका भोगाइलाई गीतमा चित्रण गरेको बताए ।
कवि गीतकार तथा प्राज्ञ श्रवण मुकारुङले गीतकार डम्बर याक्सो गीतिलेखनमा विशेष क्षमता भएको गीतकार कवि भएको बताए । गीतकार याक्सोका सिर्जनाले आफूलाई प्रभावित बनाएको बताउँदै सिर्जना सदाबहार बन्ने बताए । पछिल्लो समय भाइरलको पछाडि लागेको समाज देख्दा क्षणिक आनन्द लिएको हुँदा त्या नलाग्न अनुरोध समेत गरेका थिए ।
गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार डम्बर याक्सो देश र परिवेश सुहाउँदो गीत सिर्जना गर्ने गीतकार भएको बताए । अध्यक्ष थापाले सिर्जनाको धनीले अब आर्थिक र बौद्धिक सम्पत्ति जोगाउन पनि अनुरोध गरे । अध्यक्ष थापाले डम्बर याक्सो जस्ता स्रष्टाहरुले लगानी मात्र गरिरहेको र त्यसको प्रतिफल प्राप्त नगरेको हुँदा कानूनी रुपमा बौद्धिक सम्पत्तिको अधिकारलाई सुनिश्चित गराउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा गायक दिपक लिम्बू, गायक अशोक मुकारुङ र गायिका दीपा सुहाङ लगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।




