काठमाडौं । फिल्म ‘के घर के डेराः घर नं २’ सहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले सहरको मौलिक कथामा फिल्म बनेको बताएका हुन् ।
गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ । सहरका कथा पनि मौलिक हुनेमा उनको जोड छ ।
‘नेपालीका कथा सबै मौलिक हुन्, चाहे त्यो गाउँको कथा होस् वा सहरको,’पत्रकारसँगको अन्तरक्रियामा उनले भने, ‘गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक कथा हुन् भन्ने गलत भाष्य छ । यो तोडिनुपर्छ ।’
‘सहरमा धनी मान्छे मात्रै बस्छन् भन्ने गलत बुझाइ रहेको उनी बताउँछन् । “सहरमा गाउँको भन्दा चरम गरिबी पनि छ । सहरी गरिबी झन् डरलाग्दो छ,’ उनी भन्छन्, ‘काठमाडौंमा बिजुलीको बिल तिर्न नसक्ने घरभेटी पनि छन् । त्यसैले सहरका कथा पनि हाम्रै हुन् ।’
निर्देशक दीपेन्द्र के खनाल सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचना मात्रै घर होइन । घर बन्न इमोसन र सम्बन्ध चाहिने उनको भनाइ छ ।
‘गाउँमा सर्भाइभ गर्न सहज छ । सबैले सबैलाई चिनेको हुन्छ । सहयोग गर्छ । तर, सहरमा कसैलाई चिन्दैन । घर टाँसिएका छन् । मन टाँसिएको हुँदैन,’ दीपेन्द्र भन्छन्, ‘त्यसैले मेरा अधिकांश सिनेमा सरहका कथामा हुन्छन् । मलाई सहरका कथा भन्न मन लाग्छ । यी सबै कथा मौलिक हुन् । मौलिक सिनेमा हुन् ।’
आफ्नै छुट्टै कथा र आर्कमा फिल्म बनेको उनले बताए । पशुपतिको केही दृश्य देखिए पनि धेरै कथा पशुपतिमा नभएको उनले प्रष्ट पारे ।
अभिनेत्री केकी अधिकारीले अर्ग्यानिक कथा भन्नबित्तिकै गाउँकै कथा र गाउँकै सेटअप भन्ने भाष्य रहेको भन्दै यो गलत बुझाइ भएको बताइन् ।
‘अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,’ उनले भनिन्, ‘अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।’
फिल्मको आत्मा लेखक र निर्देशक रहेको उनले बताइन् । साहित्यको नजिक रहेका कथा लेख्न बुद्धिसागर र सबैले मन पराउने कथा भन्ने निर्देशक नै फिल्मको मुख्य पक्ष र आकर्षण भएको उनको भनाइ छ ।
फिल्मजेठ २ गते रिलिज हुँदैछ । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।






