काठमाडौँ । षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरिसकेको यो व्यानरले मंगलबार अभिनेत्री खड्काको सोलो पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ लाई प्रदर्शन मिति तोकेको छ ।
सार्वजनिक पोस्टरमा स्वस्तिमालाई श्रृङ्गारले सजिएकी गर्भवती लुक्समा देखाइएको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार हुने फिल्मका निर्माता रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्री हुन् भने कार्यकारी निर्मातामा प्रदीप भट्टराई छन् ।
अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत भएको बताइन् । ‘दर्शकले मेरा अघिल्ला फिल्मभन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन उत्साहित छु,’ उनले भनिन् ।
सार्वजनिक गरिएको पोस्टरमा केशव पाण्डेको फोटोग्राफी रहेको छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर तयार पारेको हुन् ।
आगामी दसैँ लगत्तै छायाङ्कन गरिने ‘लालीबजार’ षट्कोण आट्र्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य व्यानरसँग सहकार्य गरेको छ ।






