काठमाडौं । नेपालमा दर्ता भएको सामाजिक सञ्जाल ‘विटक’ले हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ । सम्झौता अनुसार, दुवै डान्सर ‘विटक’ले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्नेछन् । नोर्बु र सुस्मिता अन्तर्राष्ट्रिय प्रतियोगितामा चर्चित कलाकार हुन् ।
‘विटक’को माउ कम्पनी साराश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले भने, ‘हाम्रो एपमार्फत क्रिएटरको सिर्जनालाई अनलाइन र भौतिक माध्यमबाट प्रस्तुत गर्नेछौं । नोर्बु र सुस्मिताजस्ता कलाकारलाई जोड्दै हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास गर्ने हाम्रो योजना छ ।’
दाहालका अनुसार अर्का डान्सर करण सोनार पनि यस परियोजनामा जोडिएका छन् । प्रतियोगितामा ‘विटक’का प्रयोगकर्ताले पनि भाग लिन सक्नेछन् । प्रयोगकर्ताले आफ्नो हिपहप डान्स भिडियो एपमा अपलोड गरेपछि नोर्बु, सुस्मिता र करणले उत्कृष्ट भिडियो चयन गर्नेछन् । यससँगै पुरस्कार राशीको पनि घोषणा गरिनेछ ।
‘विटक’ नेपालमा दर्ता भएको सामाजिक सञ्जाल हो । एपको सुरुवात नेपाली युवा क्षितिज दाहालले गर्नुभएको हो । सरकारी सेवामा सात वर्ष काम गरिसक्नुभएका दाहालले आफ्नै सिर्जनात्मक काम गर्न आवश्यक ठानेर साराश मिडिया ल्याब स्थापना गरेका हुन् । ‘नेपालमा भिडियो सेयरिङ एप लोकप्रिय छन्, तर हाम्रो छैन । त्यसैले आफ्नै केही बनाउने सोचले विटक सुरु गरेको हुँ । यहाँ प्रयोगकर्ताले भिडियो राखेर सामान बेच्ने सुविधा पनि पाउनेछन्’, दाहालले भने ।
२०८१ असार ७ गतेदेखि एप निर्माण सुरु भएको थियो । अहिले अमेरिका, भारत (कलकत्ता) र नेपालमा २५ जनाको टोलीले काम गरिरहेको छ । भक्तपुरको पेप्सीकोलामा अफिस राखेर उनी आफ्नो सपनालाई मूर्तरूप दिन खटिइरहेका छन् ।
विटकले प्रयोगकर्तालाई ‘मनिटाइजेसन’ सुविधा, उपहार दिन मिल्ने सुविधा जस्ता विभिन्न योजना सञ्चालनमा राख्दै आएको छ । बडा दशैँपछि एक प्रयोगकर्तालाई मासिक ५० हजार पुरस्कार दिने योजना पनि तयार छ । ‘नेपाली युवाको आइडियामा बनेको विटकमा नेपाली प्रयोगकर्ताको सहभागिता आवश्यक छ । सेवासुविधासँगै आकर्षक अफर दिने व्यवस्था पनि छ । सफल भए अन्य प्लेटफर्म पनि निर्माण गर्ने योजना छ’, दाहालले भने ।
अहिले विटकमा तीन दिनमा दुई हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता भइसकेका छन् र मुख्य रूपमा नेपाली प्रयोगकर्तालाई लक्षित गरेर काम भइरहेको छ ।






