काठमाडौं । कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली फिल्ममा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गरे । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको अधिकांश फिल्ममा उनले लेखनमा सहकार्य गरे । साथै छायाङकनमा समेत सहभागी भए ।
कथामा लेखिएका शब्दलाई दृश्यमा उतार्ने अभ्यासलाई उनले नजिकबाट नियाल्ने अवसर प्राप्त गरे । फलत: निर्देशक सुब्बाले लिम्बू समुदायको कथामा फिल्म निर्माण गर्ने निर्णय गर्दै निर्देशन गर्ने हिम्मत पनि गरे । त्यसैको परिणामतः उनको पहिलो निर्देशकीय फिल्म ‘जारी’ व्यावसायिक रूपमा सफल भयो ।
‘मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ’, निर्देशक सुब्बाले भने ।
दोस्रो फिल्म ‘मनसरा’ निर्देशन गरेका उनले तेस्रो फिल्म ‘जारी २’ निर्देशन गरेका छन् । ‘जारी’ कै शृङ्खलालाई निरन्तरता दिएका निर्देशक सुब्बाले यसपटक जारीसँगै च्याब्रुङको कथालाई जोडेका छन् । त्यसो त उनले ‘जारी’ को शृङ्खलालाई अगाडि नबढाउने घोषणा गरेका थिए । तर, सोही समुदायको कथा समेटिएपछि आफ्नै अडान छाडे ।
‘मैले ‘जारी’ लाई शृङ्खलाबद्ध रूपमा अगाडि नबढाउन चाहेको हो, तर च्याब्रुङको गीतको कथा आएपछि निरन्तरता दिएँ । साथीहरूसँग सल्लाह माग्दा पनि दोस्रो भाग बनाउँदा हुन्छ भन्ने सल्लाह पाएँ । म आफ्नै अडानबाट पछि हटेँ’, उनले भने ।
आगामी कात्तिक २१ गते प्रदर्शन हुने फिल्म ‘जारी २ ः सङ अफ च्याब्रुङ’ मा समय बदलिए पनि उही समाज र संस्कृति छ । उही पात्र छन् तर ‘जारी’ मा देखाइएको समय भन्दा सात वर्ष बितिसकेको छ । यसका साथै पहिलो भागमा देखिएका कलाकारमध्येका एक विजय बराल दोस्रो भागसम्म आउँदा ‘पूर्णबहादुरको सारङ्गी’ का कारण आफ्नो लोकप्रियता बढाइसकेका छन् । तर, यस्ता कुराको दबाब निर्देशक सुब्बाले आफ्नो लेखनमा पर्न दिएका छैनन् ।
‘अभिनेता बरालसँग सहकार्य गरेको धेरै भइसक्यो, र उहाँ पनि सरल हुनुहुन्छ । त्यसकारण मैले उहाँको लोकप्रियतालाई पात्रमा हाबी हुन दिएको छैन । मैले यसपटक पनि राम्रो र सरल फिल्म बनाउने कोसिस गरेको छु, पहिलो भागको व्यावसायिक दबाब लिएको छैन । मैले आफूमा लेखक र निर्देशकलाई मात्र हावी हुन् दिएँ । त्यहाँ निर्माताको केही चलेन’, निर्देशक सुब्बाले भने ।
आगामी दिनमा उनी ‘जारी’ नाम राखेर शृङ्खलालाई अगाडि नबढाउने सोचमा छन्, तर नबनाउने भनेर घोषणा गर्न सकेका छैनन् । किनकि सोही नाममा फिल्म आउँदा त्यसले लोकप्रियतासँगै व्यावसयिक लाभ पनि प्राप्त गर्छ । तर, यस्ता कार्यले सर्जकको सिर्जनामा भने ह्रास ल्याउने उनको बुझाइ छ ।
‘हामीले नयाँ सिर्जना गर्न सकेनौँ भने वा एउटै सिर्जनालाई तन्काउँदै लग्यौँ भने त्यसले अल्छी बनाउँछ । सर्जक अल्छी भयो भने त्यसको असर सिर्जनामा पर्छ । त्यस्तो हुन् नदिन मैले सक्दो मेहनत गरेको छु । यसअघिका सफलता बिर्सेर नयाँले झैँ काम गरेको छु, किनकि मेहनतले नै सफलताको नजिक पु¥याउँछ’, उनले भने ।
उनको आगामी फिल्ममा दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुलगायतका कलाकारले अभिनय गरेका छन् ।






