वरिष्ठ बलरामको मायाले रुवायो

काठमाडौं । प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्मको नयाँ गीत निर्माणपक्षले बुधबार सार्वजनिक गरेको हो ।

हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला फिल्मको स्याड भर्सनको गीत सार्वजनिक भएको हो । गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ ।

वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा छ । प्रेममा रहेको जोडी एकाकार हुन नसक्दा भएको वियोगको पीडालाई गीतमा समेटिएको छ । वियोगको छटपटी कसैले नबुझ्दाको पीडालाई मर्मस्पर्शी शब्दसहित गीतमा चित्रण गरिएको छ । भिडियोमा फिल्मका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ ।

फिल्मको अर्को गीत ‘न्यौली बनैमा’ दर्शकले रुचाउँदा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।