पाँच पाण्डवको मुहुर्त

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को मुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा मंगलबार यो फिल्मको मुहूर्त गरिएको हो । मुहूर्तमा फिल्मका अधिकांश कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने फिल्ममा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।

फिल्म नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । फिल्ममा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–का हुन् भन्ने प्रष्ट पारिएको छैन । तर, उमेर र छविका हिसावले हरिवंश युधिष्ठिर हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए । यो फिल्ममा द्रौपदी को हो ? पाण्डवहरूको बाबु पाण्डु को हो ? आमा कुन्ती को हो ? भन्ने खुलाइएको छैन । फिल्मको महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् । फिल्मका अन्य केही कलाकारहरू अन्य केही फाइन बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए । काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्ममा सुशील पौडेलको कथा, पटकथा र संवाद छ । पौडेल फिल्म ‘प्रसाद’ का लेखकसमेत हुन् ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् । नवीनले गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मको छायांकन केही महिनाभित्र सुरु हुनेछ ।