काठमाडौं । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा कोशी पर्यटन वर्ष २०८२ सम्बन्धी विषयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरुसँग राजधानीमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सचिव डा. ईन्द्रप्रसाद सापकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित शिव श्रेष्ठ, लय संग्रौला, रमेश बुढाथोकी, राजकुमार राई, मिलन चाम्स, दीपक आचार्य, अनु शाह, प्रास्ना शाक्य, गजित बिष्ट, अरूण प्रधानलगायतका फिल्मकर्मीको उपस्थिति थियो ।
कार्यक्रममा मन्त्री सदानन्द मण्डलले फिल्म उद्योग र पर्यटन क्षेत्रबीचको सहकार्यले प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेशमा छायांकन हुने फिल्महरूलाई आवश्यक सहयोग र सहजीकरण गर्ने स्पष्ट प्रतिबद्धता समेत जनाए ।
बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्म पर्यटन विकासको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धनमा फिल्मले महत्वपूर्ण योगदान दिन सक्ने बताए।
कार्यक्रममा फिल्ममार्फत पर्यटन प्रवर्द्धन गर्ने विषयमा कलाकर्मीसंग छलफल गर्दै कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचार सामग्री देशभरका फिल्म भवनहरूमा प्रदर्शन गरि आन्तरिक पर्यटनमा वृद्धि गर्ने साथै कलाकारहरूले सामाजिक सञ्जालमार्फत कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा गर्ने तथा कोशी सरकारले कोशी प्रदेशमा छायॉकन हुने फिल्मलाई सहयोग गर्ने अनौपचारिक सहमति भएको छ ।
कार्यक्रममा फिल्म ‘परान’का निर्देशक दीपक आचार्यले कोशी प्रदेशमा फिल्म छायांकनका क्रममा स्थानीय सरकारबाट अपेक्षित सहजीकरण नपाएको गुनासो गरे। जवाफमा प्रदेश सचिव डा। ईन्द्र प्रसाद सापकोटाले आगामी दिनमा फिल्म छायांकनका लागि अनुकूल वातावरण निर्माण गरिने र स्थानीय तहसँग आवश्यक समन्वय गरिने विश्वास ब्यक्त गरे ।
कार्यक्रमले कोशी पर्यटन वर्ष २०८२लाई चलचित्र उद्योगसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको आयोजकले जनाएको छ।






