गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिइन् । पुसको जाडोमा पनि उनको प्रस्तुतिले माहोल केहीबेर ततायो । अधिकारीका चर्चित गीतमा दर्शक झुमे । उनीसगै स्वरमा स्वर मिलाए । ‘मुटुमै बसेछ’ गीतसँगै मञ्च उक्लिएकी अधिकारीले ‘हावा चिसोचिसो’ बाट आफ्नो प्रस्तुतिलाई बिट मारिन् ।
अधिकारीले ‘शिरमा शिरबन्दी’, ‘दुश्मन हेरेको हेरै’, ‘बुझिन मैले’, ‘सूर्ति माड्दामाडदै’, ‘कुरा बुझ्न पर्छ’, ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लगायत गीत सुनाइन्। गायिका अधिकारीलाई बागलुङ उद्योग वाणिज्य सङ्घले दर्शकसँग भेट गराएको हो । उनको प्रस्तुति सुन्न प्रौढदेखि बालबालिकासम्म महोत्सवस्थल पुगेका थिए । अधिकारीको गायकीमा कोही मन्त्रमुग्ध देखिन्थे भने कोही नाचेर साथ दिइरहेका थिए ।
प्रस्तुतिका क्रममा अधिकारीले बागलुङसँगको आफ्नो सामिप्यता र साङ्गीतिक यात्राबारे दर्शकमाझ आफ्नो अनुभव साझा गरिन् । शुक्रबार विराटनगरको कार्यक्रम भ्याएर बागलुङ महोत्सवमा आएकी अधिकारी सोमबार जापान जाँदै छिन् । जापानमा बागलुङको गलकोटबाट जापान पुगेकाहरूले जन्माएको संस्था गलकोट समाज, जापानद्वारा आयोजित अङ्ग्रेजी नयाँ वर्ष विशेष साङ्गीतिक कार्यक्रममा अधिकारीले प्रस्तुति दिनेछिन् ।







