काठमाडौं । फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलरले गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं सहर नरहेको यथार्थ देखाउने प्रयास गरेको छ । घरमा पुलपुलिएर बसेको छोरो सहरमा आएर आफ्नै कमाइमा बाच्नु पर्दाको कठिन समय र आमाले छोरोको दयनीय अवस्था थाहा पाउँदाको क्षण ट्रेलरमा चित्रित छ । फिल्म माघ १ गते रिलिज हुँदै छ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ ।
तारानाथ न्यौपाने चिफ एडी रहेको फिल्ममा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन छ । फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।







