४२ औं दिनमा सकियो बब डाई

काठमाडौं । फिल्म ‘बब डाई’को ४२ औं दिनमा छायांकन पुरा भएको छ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको फिल्म काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमा छायांकन गरिएको छ । फिल्मका निर्देशक प्रवीण श्रेष्ठका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा लागेको छ । दुईगीत बाहेक स्क्रिप्टका दृश्यका सम्पुर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताएका छन् । गीतको छायांकन केहिसाता पछि गरिनेछ ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा कीर्तिपुरको एक युवाको कथा छ । अभिनेता सौगातले बब डाईको भूमिका निभाएका छन् । निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले फिल्मको नाम बब डाई राखिएको हो ।

फिल्ममा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको पनि अभिनय रहेको छ ।

फिल्ममा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ । चलचित्रको एसोसिएट निर्देशक दिनेश बहादुर राउत हुन् भने मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् ।

फिल्म श्याम तामाङको टिमले खिचेको छ भने निर्देशक प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन् । फिल्ममा शंकर महर्जनको एक्सन छ । फिल्ममा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता छन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन् । फिल्मको प्रदर्शन मिति तोकिएको छैन ।