काठमाडौं । नेपाली सांगीतिक व्याण्ड नेपथ्य पहिलोपटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ । भारतमा दर्ता भएको नेपाली कम्पनी पीभीई नेटवर्कले आगामी फेब्रअुरी २८ मा आयोजना गर्न लागेको ‘नेपथ्य लाइभ सिलिगुडी’मा नेपथ्यले गीत प्रस्तुत गर्न लागेको हो । कन्सर्ट उत्सोधारा टिष्टा टाउनशिप, कावाखली ग्राउन्डको पछाडिको क्षेत्रमा हुनेछ । उत्तर बंगालको प्रवेशद्वारका रुपमा परिचित सिलिगुडीमा पूर्वी भारत र हिमालयन क्षेत्रका नेपाली संगीतप्रेमीहरूमाझ सांस्कृतिक आदानप्रदानका रुपमा स्थापित गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको आयोजकको भनाई छ ।
सिलिगुडी कन्सर्ट पीभीई नेटवर्कले यस क्षेत्रमा गर्न लागेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रत्यक्ष कन्सर्ट हो । पीभीई नेटवर्कका संस्थापक विकेश कायस्थले सिलिगुडीमा नेपथ्य ल्याउनु संस्थाको विश्वासको प्रतिबिम्ब रहेको बताए । ‘यस क्षेत्रमा दर्शकहरूले ठूला कन्सर्टको प्रत्यक्ष अनुभव लिन पाउनुपर्छ । हाम्रो उद्देश्य विश्वस्तरीय कन्सर्ट अनुभव प्रदान गर्नु हो र नेपथ्यको सांगीतिक सांस्कृतिक धरोहरलाई सम्मान गर्नु हो’, उनले भने । कायस्थका अनुसार नेपाल र भुटानका दर्शकहरू कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ । त्यस्तै भारतका मुंबई, बेंगलुरु, नयाँ दिल्ली, र पूर्वोत्तर क्षेत्रबाट दर्शकले पनि कन्सर्टबारे चासो देखाएका छन् ।
नेपथ्यको कार्यक्रमका लागि आयोजकले अर्ली बर्ड टिकटहरू अनलाइनमा उपलब्ध गराएका छन् र ती बिक्री पनि भइसकेका छन् । आयोजकका अनुसार हाल सिमित टिकटहरू मात्र बाँकी छन्। नेपालमा खल्ती बाई आइएमई टिकेटिङ साझेदारको रूपमा टिकटहरू उपलब्ध छन्।
तीन दशकअघि स्थापित नेपथ्य दक्षिण एसियाका प्रभावशाली ब्यान्डहरूमध्येमा पर्छ । जसको संगीत सामाजिक जनजीवन, आप्रवासन, पहिचान र साझा स्मृतिमा आधारित छ। यसअघि पनि उनीहरूको गीतहरू उत्तर बंगल, सिक्किम, नेपाल र छिमेकी क्षेत्रहरूमा लोकप्रिय भइसकेका छन् । नेपथ्यको यो कन्सर्ट सिलिगुडी संस्करणको इतिहासमा दोस्रो ठूलो टिकटसहितको कन्सर्ट हो । जहाँ यसअघि यस्तै कन्सर्ट अरिजित सिंहले गरेका थिए ।
यसअघि यसको प्रोपाइटरी आइपी कन्सर्ट ‘लेट्स गेट लाउड–इण्डिया सिरिज” ले सज्जन राज वैद्य लाई प्रस्तुत गरेको थियो । ‘लेट्स गेट लाउड–इण्डिया सिरिज’ गत वर्षको नोभेम्बरमा सिलिगुडी र सिक्किमको गान्तोकमा १२,००० भन्दा बढी दर्शकको उपस्थितमा भएको थियो। गान्तोक शो सिक्किमको सबैभन्दा सफल टिकटसहितको प्रत्यक्ष कन्सर्टको रुपमा चित्रित छ ।
नेपथ्यले नेपालसहित युएई, अस्ट्रेलिया, युरोप, जापान, र अमेरिकामा सयौँ कन्सर्ट गरिसकेको छ । पीभीई नेटवर्क दक्षिण एसियाको प्रमुख मनोरञ्जन प्लेटफर्मको रूपमा स्थापित भइसकेको छ । यसले ४० भन्दा बढी शहरमा ३०० इभेन्टहरू सञ्चालन गरेको छ भने ५० नेपाली कलाकारहरूसँग सहकार्य गरिसकेको छ ।







