काठमाडौं । निर्देशक सुदिप्ताको डेव्यु निर्देशकिय फिल्म ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रेम र धोकाको कथा प्रस्तुत गरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्मकी निर्देशक सुदिप्ताले फिल्मलाई लभस्टोरी भन्दा पनि ब्रेकअप पछिको कथाका रुपमा बुझ्न आग्रह गरिन् । ‘नेपाली फिल्ममा केटा अर्थात् हिरोको तर्फबाट थुप्रै लभस्टारी फिल्म निर्माण भएका छन् । मैले चाहिँ महिलाको परसेप्सनबाट कथा भनेकाले दर्शकलाई नयाँ अनुभव हुनेछ । एउटा केटी ब्रेकअप पश्चात कस्तो माइण्ड सेट हुन्छ । उसले के–के भोग्छ । त्यो कथालाई फरक रुपमा प्रस्तुत गरेको छु्’, उनले भनिन् ।
अभिनेत्री आना शर्माले कथामा आफुलाई अफर आएपछि करिब ६ महिना निर्देशक सुदिप्तासँग बसेर पात्र अनुसार आफुलाई ढालेको बताइन्। अभिनेता धिरज मगरले आफूले पछिल्लो समयमा हिरो सेन्ट्रिक नभई हिरोइन वा महिला पात्रको माध्यमबाट भनिने कथामा बढि काम गरेको बताए ।
आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको गायक समीर श्रेष्ठको डेब्यू अभिनय छ । सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, थिन्ले लामोलगायत कलाकारको पनि अभिनय छ । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह–निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।







