मुम्बई(एजेन्सी) । भारतीय गायक अरिजीत सिंहले पाश्र्व गायनबाट सन्यास लिने घोषणा गरेपछि उनका फ्यानहरु चिन्तित भएका छन् । २७ जनवरीमा गायकले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आगामी दिनमा आफू कुनै प्रोजेक्ट नगर्ने घोषणा गरेका थिए । उनको यो घोषणा पछि ३७ वर्षमै पाश्र्वगायनबाट अवकाश लिने निर्णय लिएका अरिजीत आखिर के गर्दैछन् त ? भन्ने चासो उत्तिकै छ ।
गायक अरिजीत चाँडै एक राजनीतिक दल खोल्ने तयारीमा छन् । उनको अन्य राजनीतिक योजनालाई हाल गोप्य नै राखिएको छ । तर उनी निकट स्रोतले भने गायकले राजनीतिक क्षेत्रमा आफ्नो करियर मोड्ने प्रक्रिया सुरु गरिसकेका छन् ।
अरिजीतले हालै पश्चिम बंगालको बोलपुरमा पंकज त्रिपाठी, नवाजुद्दिन सिद्दीकी र छोरी शोरा अभिनीत एक हिन्दी फिल्मको निर्देशन गरेका छन् । यति धेरै पैसा कमाएर पनि अरिजीत पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको जियागन्जस्थित आफ्नो गृहनगरमा सादगी जीवन बिताइरहेका छन् ।
हालैमात्र उनले सामाजिक सञ्जालमार्फत पाश्र्व गायनबाट सन्यासको घोषणा गरेका थिए । ‘हेल्लो, तपाईंहरु सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना । यतिका वर्षदेखि दर्शकका रुपमा तपाईंहरुले मलाई जुन प्रेम दिनुभयो । त्यसका लागि धेरै धेरै धन्यवाद । मलाई यो कुरा भन्दा खुशी भइरहेको छ कि अब म पाश्र्व गायकका रुपमा कुनै नयाँ काम लिदिनँ । म यो पेशाबाट बिदा लिँदैछु । यो एक सानदार यात्रा रह्यो’, उनले लेखेका थिए ।







