काठमाडौं । लेखक पशुपति घिमिरेको नविनतम नियात्रा कृति ‘तीन महादेशका केही तरङ्ग’ लोकार्पण गरिएको छ । गत शनिवार काठमाडौंमा आयोजित एक समारोहबीच प्राडा गोविन्दराज भट्टराई, विश्व साइकल यात्री पुष्कर शाह, समीक्षक राजकुमार बानियाँ, लेखक पशुपति घिमिरे, प्रकाशक पुष्पराज पौडेल, निबन्धकार कुमारी लामा र कवि प्रह्लाद पोखरेलले संयुक्त रूपमा पुस्तक विमोचन गरे ।
पुस्तकको विषयवस्तु, भाषा शैली आदि बारे समीक्षक राजकुमार बानियाँले आफ्नो धारणा राखेका थिए । ‘जहाज नचढी, टिकट भिसा केही नगरी यो पुस्तकले पाठकलाई विभिन्न ठाउँ घुमाउनेछ’ बानियाँले भने ‘यो पुस्तक इतिहास,भाषा,संस्कृति र मानवीय संवेदनाले भरिपूर्ण छ।’
प्राडा भट्टराईले नियात्रा लेखनको क्षेत्रमा ‘तीन महादेशका केही तरङ्ग’ एक उल्लेखनीय कृति भएको बताए । लेखक पुगेका धेरै ठाउँमा आफू पनि पुगेको बताउँदै भट्टराईले ग्रीसको गर्मी र सुकरातका पाइलाका डोबहरू शीर्षक नियात्रामा लेखक घिमिरेका छोराछोरीले ग्रीसका ढुंगा बोकेजस्तै आफूले पनि ग्रीसबाट ल्याएको ढुंगा देखाउँदै वातावरणलाई हाँसोमय बनाएका थिए ।
पुष्कर शाहले ननफिक्सनभन्दा फिक्सन लेख्नेहरू विशेष भएपनि ननफिक्सनको पनि आफ्नै महत्व रहेको बताए । शाहले भने ‘अक्षर मार्फत् संसार घुमाउन सक्नु ठूलो कुरा हो ।’
लेखक घिमिरेले विशिष्ट महानुभावहरूमाझ आफ्नो कृति विमोचन गर्न पाउनु सौभाग्यको विषय भएको बताए । कार्यक्रममा मा करिब चार दर्जन साहित्यप्रेमीहरूको उपस्थिति थियो ।




