फिल्मका गीतबारे गीतकारको मन्थन

काठमाडौं । गीतकार सङ्घ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हक अधिकार सम्बन्धी कार्याशाला’ सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा बोर्डकै सभाहलमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा पूर्व मन्त्री तथा कवि, गीतकार एसपी कोइराला, गायिका मिरा राणा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार आनन्द अधिकारी, कवि तथा गीतकार श्रवण मुकारुङ वक्ता रहेका थिए ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले फिल्म उद्योगमा गीतलाई प्रमोशनका रुपमा अगाडि बढाउन प्रयोग गरिएको कुरा उल्लेख गरेका थिए । उनले फिल्ममा गीतकारहरुले गरेको योगदान, रोयल्टी एवं प्रतिलिपि अधिकारका कुरालाई समेत संवेदनशील भएर हेरिनुपर्ने बताएका थिए । कार्यक्रमले फिल्ममा गीतको इतिहास, आवश्यकता, महत्व, प्रभावबारे चेतना विकास गर्न यो कार्यक्रम लक्षित गरिएको अध्यक्ष थापाले बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गीतकार अधिकारीले गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गरेका थिए । कार्यक्रममा उनले चलचित्रको संरचना र प्रभावबारे विस्तारमा चर्चा गर्दै चलचित्रले समाजको यथार्थ, मानवीय संवेदनालाई प्रस्तुत गर्ने हुँदा यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका हुन् ।

संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले गीतकार नै पहिलो स्रष्टा, प्रस्तोता र उत्पादकसमेत भएको उल्लेख गरे । कुनै पनि गीतको सम्पूर्ण अधिकार गीतकारमा निहीत रहेको बताउँदै अधिकारीले भने– ‘गीतकारको अनुमतिले रिमेक, रिप्रोडक्सन र सार्वजनिक प्रयोग गर्न पाइनेछ । सम्पूर्ण बौद्धिक सम्पत्ति, प्रतिलिपि अधिकार गीतकारमा रहने प्रावधान विश्वव्यापी रहेको छ ।’

गायिका मीरा राणाले सांगीतिक यात्राको पहिलो गायन नै चलचित्रबाट गरेको उल्लेख गर्दै गीतबिनाको फिल्म कमजोर रहने बताइन् । कुनै पनि चलचित्रलाई पूर्णता दिन गीतसंगीतको प्रयोग अनिवार्य भएको बताउँदै गीतकार प्रमुख सर्जक रहेको हुँदा यसको महत्वलाई विशेष रुपमा लिइनुपर्ने बताइन् ।

कवि तथा गीतकार श्रवण मुकारुङले चलचित्रमा गीतको महत्वपूर्ण भूमिका रहेको बताउँदै गीत लेखनको क्रममा आफूले भोगेका घटनाहरुलाई प्रस्तुत गरेका थिए । ‘राई माइलाले गाउँ छाड्यो’ गीतको चर्चासँग चलचित्र निर्माताहरु गीत लेखाउन आएको र पारिश्रमिकसहित एग्रीमेन्ट गरौं भनेपछि नफर्केको घटना सुनाउँदै मुकारुङले फिल्ममा गीतकारलाई प्रयोग गरिएको दृष्टान्त प्रस्तुत गरेका थिए ।

पूर्व मन्त्री, कवि तथा गीतकार एसपी कोइरालाले फिल्ममा गीतको महत्वपूर्ण भूमिका रहेको बताउँदै गीतकार सङ्घ नेपाल गीतकारहरुको हक अधिकारका लागि निरन्तर क्रियाशील रहेको बताए ।