काठमाडौं । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार निर्माण टिमले एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा फिल्मका मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको प्रेम, असमझदारी र घरझगडालाई देखाइएको छ । दुईको झगडा मिलाउन अर्का अभिनेता सौगात मल्लले गरेको मेहनत पनि ट्रेलरमा हेर्न लायक छ ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ। फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा।लिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन्। यस फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राईट लिइसकेको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।




