तिहारमा पाँच पाण्डव

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ आउन लागेको हो । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वात छौं ।’

आरआर फिल्मस्का रोहित कट्टेलले ‘पाँच पाण्डव’लाई लिएर आफूहरू निकै उत्साहित रहेको बताएका छन् । ‘हामीले फिल्मको कन्टेन्ट र यसमा रहेका कलाकारहरूको बलियो लाइनअप हेरेर नै वितरणको जिम्मा लिएका हौं । तिहार जस्तो ठूलो चाडमा दर्शकले खोज्ने भनेकै पूर्ण मनोरञ्जन हो, जुन यो फिल्मले दिनेछ । ‘पाँच पाण्डव’ व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल हुनेमा हामी विश्वस्त छौं, त्यसैले हामीले यो उत्कृष्ट मिति रोजेका हौं ।’ उनले भने ।

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीलगायत मुख्य भूमिका रहने छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्मका निर्देशक वसन्त निरौला हुन् । फिल्ममा सुशील पौडेलको कथा, पटकथा तथा संवाद छ ।