काठमाडौँ । टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति भदौ १९ तोकेको छ । पोस्टरमा फिल्मका मुख्य चार कलाकारको लुक्स समेत सार्वजनिक गरिएको छ । जसमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी क्यारेक्टर लुक्समा देखिएका छन् ।
पोस्टरमा देखिएको कलाकारहरूको अनौठो अवतारले फिल्मको कथालाई सस्पेन्स बनाएको छ । फिल्ममा बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन छ । अनीश बुढाथोकी सहायक निर्देशक हुन् । फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको पनि अभिनय छ ।
सुमन अगरवालको कन्सेप्ट रहेको फिल्मको लेखन बिक्की अगरवाल, विकास अर्याल र सरोज भण्डारी र बिश्वास तिमल्सिनाले गरेका हुन् । फिल्ममा सुदिप बराल र टिमको छायांकन छ । फिल्मको टाइटल आर्टस् ट्राइडेन्ट कन्सेप्टको हो भने पोस्टर डिजाइनको काम कार्यालयले गरेको हो ।




