जिग्री र काकुको चिरञ्जीवी भवमा प्रशंसा

काठमाडौं । सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीले फिल्म ‘चिरञ्जीवी भव’मार्फत नेपाली फिल्ममा पाइला चाल्ने भएकी छन् । हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुन लागेको फिल्ममा प्रशंसाले अभिनय गर्न लागेकी हुन् ।

फिल्मको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो । फिल्ममा दीपकको निर्देशन र कुमारको कथा हुनेछ । फिल्म सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ । फिल्मको मुख्य विषयवस्तु दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कुमार कट्टेलले जानकारी दिए ।

फिल्ममा सविन अधिकारी र बसन्त न्यौपाने लेखकका रूपमा छन् । निर्माण पक्षका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र फिल्मको छायांकन सुरु गर्ने तयारी छ ।