प्रकाश भन्छन्: सांसद बन्न नपाउदा पश्चाताप छैन

काठमाडौं । गायक तथा नायक प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा पर्दा उनले बधाई र शुभेच्छा राम्रै पाए । तर पार्टीले सांसदमा सिफारिस नगर्दा उनी हिस्स परे । प्रकाश आफू सांसद बन्न नपाईकाेमा दुःखी कम, बढी खुशी छन् ।

भाेलि शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म “परालकाे आगाे”मा चामेकाे भूमिका निभाएका प्रकाश पत्रकार माझ राजनीतिक विषयमा सुनिए ।

“म व्यक्तिगत रूपमै क्लियर थिएँ । म कहाँ छु, व्यवसायिक रूपले मलाई केले फाइदा हुन्छ । जनतालाई अझै बढी के कुराले इन्टरटेन गर्दै प्रिय भइरहन सक्छु भन्ने कुरामा म प्रष्ट थिएँ,” उनले भने ।

उनले आफू सांसद बन्न नपाउदा कुनै पश्चाताप नलागेकाे दाबी गरे । “मेराे आफ्नाे फाइदाका लागि पनि थिएन । कम्तीमा देशको लागि प्रत्यक्ष रूपमा एउटा सानाे नीति बनाएर पनि केही कुरा परिवर्तन गरेर याेगदान दिन सकिन्छ भन्ने लाग्याे । तर म त्यहाँ गइन । अहिलेसम्म मलाई पश्चाताप छैन”, उनी भन्छन्, “अझै २,४ महिना हेराैं । अहिलेका सांसद र सरकारले कस्तो काम गर्छन् । राम्रो काम गरे भने पश्चाताप हुन्छ हाेला । काम बिग्रेछ भने ठीकै भएछ नगएको भन्ने हाेला ।”