सुर्खेत । कर्णाली प्रदेशको कला, संस्कृति, पर्यटन सम्भावना र फिल्म क्षेत्रको विकासका लागि सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ सम्पन्न भएको छ ।
‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने नारासहित भएको महोत्सवमा कर्णाली प्रदेश सरकारले फिल्म क्षेत्रको विकासका लागि ठोस नीति तथा बजेटगत प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत कर्णालीमा छायाङ्कन गर्न चाहने निर्माता–निर्देशकलाई विशेष सहकार्य र प्रोत्साहन उपलब्ध गराउने घोषणा गरिएको छ।
चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा कर्णालीको भूगोल, जीवनशैली, संस्कृति, भाषा, इतिहास र जनजीवनलाई चलचित्र कथाको मूल स्रोतका रूपमा विकास गर्न चलचित्र कथा प्रतियोगिताको आयोजना गरिएको थियो ।
महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विकास गर्ने दीर्घकालीन योजनामा समेत सहमतिको वातावरण बनाएको आयोजकको दाबी छ ।
महोत्सवका क्रममा सल्यानको कुपिण्डे दहमा विशेष चलचित्र पर्यटन समारोह आयोजना गरिएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सदस्य गणेश प्रसाद सुबेदीलगायतको उपस्थिति थियो ।




