वैशाख २२ गतेसम्म लालीबजार प्रदर्शनमा अदालतकाे राेक

काठमाडौं । उच्च अदालत पाटनले यही शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको फिल्म ‘लालीबजार’ काे रिलिज राेक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । वादी समुदायको कथा समेटिएकाे फिल्मकाे रिलिज राेक्न माग गर्दै वादी समुदायको तर्फबाट राेशनी नेपालीले रिट दायर गरेकी थिईन । उक्त रिटमा रिटमा न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले वैशाख २२ गतेसम्म प्रदर्शनमा राेक लगाएकाे हाे ।

यम थापा निर्देशित फिल्मकाे आज साँझ प्रिमियरकाे तयारी थियाे । फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानिया, मुकुन्द श्रेष्ठ, समाइरा थापा, अभयराज बराललगायतकाे अभिनय छ ।

अदालतले दिएको आदेशमा भनिएको छ, ‘…सम्प्रदायका मानिसहरूको मान-मर्यादा इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति घृणा द्वेष वा वैमनस्यता उत्पन्न गर्ने साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द-चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्ने कुरामा नियन्त्रण कायम गर्न नेपालको संविधान एवं प्रचलित कानुनद्वारा निर्देशित दायरामा रही प्रभावकारी रूपमा नियमनकारी भूमिका निर्वाह गर्नु भनी चलचित्र बोर्ड तथा चलचित्र जाँच समितिका नाउँमा निर्देशनात्मक आदेशसमेत जारी भएको परिप्रेक्ष्यमा प्रस्तुत रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदकसमेतलाई अपूरणीय क्षति पुग्ने देखिँदा सुविधाको सन्तुलन (ब्यालेन्स अफ कन्भिनेन्स) का आधारमा २२ बैशाखसम्म सार्वजनिक रुपमा ‘लाली बजार’ नामक चलचित्र प्रदर्शन गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिनुहोला ।’