काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यु’ले पुरानो मितेरी साइनोको सम्बन्धलाई सम्झाउँछ । किनभने नेपालमा मित लगाउने क्रम विस्तारै हराउँदै गएको यो शब्द कम सुनेदेखि नै हुँदै आएको छ । ८ वर्षअघि नै यस फिल्मका निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले यो फिल्मको परिकल्पना गरेका थिए। उनीहरुले यस फिल्मका लागि कलाकारमा दयाहाङ राईलाई छनोट गर्ने निधोमा थिए। उनीहरुले दयाहाङलाई कथा सुनाए। दयाहाङलाई कथा मन पर्यो। ‘मितज्यू’को कुराकानी चलिरहँदा यसबीचमा ‘घरज्वाई’निर्माण गरे। यो फिल्मको दुई वर्षपछिमा पुन ८ वर्षअघिको कथा ‘मितज्यु’को स्क्रिप्ट खोलियो। फिल्ममा दयाहाङसँगै सौगात मल्ल, टेरिया फौजा मगर, शिशिर वाङ्देल जोडिए ।
दयाहाङ मितज्यूलाई सम्बन्धको कथा भन्न रुचाउँछन् । ‘विशेषगरी पारिवारिक सम्बन्ध, मित्रता र व्यावसायिकताको कथा हो । एउटा गाउँदेखि शहरसम्म गाडीको रुट छ, जहाँ तीन जना चालकहरूले सेवा दिइरहेका छन्। म, सौगात मल्ल र शिशिर वाङ्देल दाइका पात्र छन्। मेरो पात्रको आफ्नै पारिवारिक पृष्ठभूमि र विगत छ। गाडी चलाउने पेशामा दौडधुप र पारिवारिक जिम्मेवारीबीच उसले के सोचिरहेको छ भन्ने वरिपरि कथा घुम्छ’, उनी भन्छन्, ‘टिजर वा ट्रेलरमा सबै कुरा देखिँदैन। फिल्ममा हरेक पात्रको आफ्नै कथा छ ।’
दयाहाङ आफ्नो अभिनय शैली नै पात्रको मनोविज्ञानसँग खेल्ने रहेको बताउँछन् । ‘बाहिरी हाउभाउभन्दा पनि पात्रको भित्री भावनासँग नजिक हुन रुचाउँछु । ‘मितज्यू’मा मैले निभाएको पात्र मभन्दा नितान्त फरक छ। तर मैले देखेका र महसुस गरेका यथार्थसँग जोडिएको छ। अहिलेको सामाजिक–राजनीतिक सन्दर्भसँग पनि दर्शकले यसलाई कनेक्ट गर्न सक्नुहुन्छ’, उनले भने ।
दयाहाङले नव अभिनेत्री टेरिया मगरसँगको कामको अनुभवबारे पनि बोले । ‘कलाकार भएपछि नयाँ वा पुरानो भन्ने हुँदैन। त्यो कास्टिङ र स्क्रिप्टको आवश्यकता हो। मेरो लागि हरेक फिल्म नयाँ अनुभव हो। फरक मनोविज्ञान भएका पात्रहरूसँग काम गर्दा हामी आफैं पनि नयाँ रूपमा एडजस्ट हुन्छौँ। सहकार्य, बुझाइ र रुचि मिल्दै जाँदा काम सहज हुन्छ’, उनी भन्छन् ।
दयाहाङका अनुसार उनले कसैसँग मित लगाएका छैनन् । ‘व्यक्तिगत रूपमा मैले मित लगाएको छैन। तर समाजमा यसको परम्परा र महत्वबारे सुन्दै आएको छु। पहिले झगडा मिलाउन मित लगाउने चलन थियो भन्ने सुनेको छु। अहिले पनि यसलाई विभिन्न रूपमा बुझ्न सकिन्छ, जस्तो राजनीतिक सन्दर्भमा पनि ‘मित’ जस्तै सहकार्य वा गठबन्धन देखिन्छ।’ उनी भन्छन् ।





